काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१ अर्बभन्दा बढीको कारोबार भएको छ।
नेप्सेका अनुसार आइतबार कूल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। यति ठूलो कारोबार भएको दिन सूचक भने सामान्य घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक २.८७ अंकले घट्दै २८६७.७६ बिन्दुमा पुगेको हो।
आजको दिन १०५ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा १४४ कम्पनीको सेयर घटेको छ। दुई कम्पनी— उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेड का सेयरमा सकारात्मक सर्किट लाग्दै तीव्र वृद्धि देखिएको छ।
त्यस्तै, ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड का लगानीकर्ताले पनि झण्डै ९ प्रतिशतको लाभ लिएका छन्।
अर्कोतर्फ, समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा बेहोरिरहेका छन्। यस कम्पनीको सेयर मूल्य आज ८.८८ प्रतिशतले घटेको हो।
आज सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड को भएको छ। एक दिनमै ९८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार यस कम्पनीको सेयरमा भएको नेप्सेले जनाएको छ।
लगातारको बृद्धिपछि आइतबार सूचकमा देखिएको सामान्य गिरावटलाई लगानीकर्ताहरूले सामान्य समायोजनको रूपमा लिएका छन् भने कारोबार रकमले बजारमा सक्रियता कायमै रहेको संकेत दिएको छ।












