पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार रातिदेखिको लगातार वर्षाका कारण बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती बेपत्ता भएका थिए।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा गरिएको खोजीका क्रममा छविलालको शव पुरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
श्रीमती विष्णुमतीको खोजी कार्य भने अझै जारी रहेको छ। डिमुवा र कुश्माबाट आएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा पहिरो पन्छाउँदै खोजी कार्य भइरहेको डीएसपी विष्टले बताए। अत्यधिक वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उनले उल्लेख गरे।
उक्त घटनाबाट प्रभावित भएका दम्पतीका २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने समयमै घरबाट निस्केर हामफालेर ज्यान जोगाउन सफल भएकी छन्।












