काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १० कित्ता भन्दा कम सेयरलाई समेत नियमित कारोबार प्रणालीमा ल्याएको छ । साउन १ गतेदेखि लागू हुने यस व्यवस्थाले अब ‘अड लट’ सेयर (१० कित्ता भन्दा कम) पनि सहज रुपमा किनबेच गर्न सकिनेछ ।
नेप्सेले लगानीकर्ताको मागलाई सम्बोधन गर्दै आफ्नो वेबसाइटमा रहेको मार्केट डेप्थ मा अड लट खरिद तथा बिक्री आदेश देखिने व्यवस्था मिलाएको हो ।
यसअघि लगानीकर्ताले अड लट सेयर बेच्न वा किन्न आफैं ग्राहक खोज्नुपर्ने, वा त्यो कम्पनीको थप सेयर किनेर मात्रै कारोबार गर्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै यो झन्झट हटेको नेप्सेले जनाएको छ ।
के हो अड लट सेयर?
-धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार—
-अंकित मूल्य रु.१० भएका सेयरको १०० कित्ता
-अंकित मूल्य रु.१०० भएका सेयरको १० कित्ता
-अंकित मूल्य रु.१००० भएका सेयरको १ कित्ता लाई ‘बोर्ड लट’ भनिन्छ ।
यस भन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट कारोबार भनिन्छ ।
अड लट कारोबारका विशेषता:
-मूल्य परिवर्तन सीमा र नेप्से परिसूचक गणनामा समावेश हुँदैन
-बोर्ड लटलाई टुक्राएर अड लट बनाउन नपाइने
-अड लट सेयरको नियमित कारोबारले बजारमा तरलता वृद्धि गर्ने अपेक्षा
यस्तो छ प्रक्रिया:
-लगानीकर्ताले आफ्नो खातामा कुन कम्पनीको अड लट सेयर छ भनेर हेर्नु
-नेप्सेको वेबसाइटमा गएर Market Depth मा क्लिक गर्ने
-त्यहाँ देखिएको अड लट अप्सनमा क्लिक गरी कुन सेयरको कति अडर राखिएको छ हेर्ने
-त्यसपछि TMS मा गएर सोही मूल्यमा सेयर किन्न वा बेच्न अर्डर राख्न सकिने
नेप्सेले के भन्यो?
नेप्सेले अड लट कारोबार सुरु भएपछि लगानीकर्ताको पुरानो गुनासो अन्त्य हुने विश्वास व्यक्त गरेको छ । नयाँ प्रणालीले साना लगानीकर्तालाई सजिलो बनाउने र बाँकी सेयर अलपत्र नपार्ने आशा गरिएको छ ।












