काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिपछि सेयर बजारले सकारात्मक लय समातेको देखिएको छ। सोमबार केही गिरावट देखिए पनि त्यसपछिका दुई दिन–मंगलबार र बुधबार–सेयर बजारमा उल्लेखनीय सुधार देखिएको हो।
मंगलबार ३४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार थप ३५ अंकले वृद्धि हुँदै २७९४ विन्दुमा पुगेको छ। यसअघि आइतबार पनि बजार २९ अंकले उकालो लागेको थियो, तर सोमबार भने ३५ अंकको गिरावट आएको थियो।
बुधबारको कारोबारमा १९३ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। कुल कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १४ अर्बभन्दा बढीको कारोबार भएको हो।
बुधबार सबैभन्दा बढी वृद्धि भएको कम्पनी केभिएल डेभेञ्चर २०९० र थ्री स्टार हाइड्रो पावर लिमिटेड रहेका छन्, जसले १० प्रतिशतको सकारात्मक सर्किट हिट गरेका छन्। यसको विपरीत, माइखोला हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी, झन्डै ८ प्रतिशतको गिरावट आएको छ।












