काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको सकारात्मक प्रभाव बजारमा तत्काल देखिएको हो। बजारमा उत्साह थपिँदै जाँदा बैंकिङ र माइक्रोफाइनान्स समूहका लगानीकर्ताहरू लाभान्वित भएका छन्।
एनआइसी एशिया र खानीखोला हाइड्रोमा सर्किट हिट
आजको बजारमा एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ, जसका कारण दुबै कम्पनीका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्।
त्यस्तै, जीवन विकास लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले वृद्धि भएको छ भने नेष्डो समृद्ध लघुवित्तको ७.३० प्रतिशत र समाज लघुवित्तको ६.५० प्रतिशतले मूल्य बढेको छ।
१५८ कम्पनीको सेयरमूल्यमा वृद्धि
मूल्यवृद्धिको लहरले बजारमा व्यापक उत्साह ल्याएको छ। आज मात्र १५८ वटा कम्पनीको सेयरमूल्य बढेको नेप्सेले जनाएको छ। लगानीकर्ताहरूका अनुसार, मौद्रिक नीतिले तरलता व्यवस्थापन, कर्जा विस्तार, शेयर धितो कर्जा सीमा वृद्धि लगायतका उपायहरू प्रस्तुत गरेपछि लगानी मनोबलमा उल्लेखनीय सुधार आएको हो।













