काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।
कम्पनीले सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत र सहायक पदहरूमा नयाँ कर्मचारी मागेको छ। साथै, आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकनद्वारा गरिने बढुवासम्बन्धी सूचना पनि कम्पनीले सार्वजनिक गरेको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र आवेदन दिन सक्नेछन्।
त्यस्तै, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि ५२ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति समितिले आज सूचना प्रकाशित गर्दै आन्तरिक प्रतिस्पर्धा र खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने जनाएको हो।
लोकसेवा आयोगको सहमतिअनुसार लिमिटेडले उपप्रवन्धक, सहायक प्रबन्धक, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृत लगायतका पदहरूमा स्थायी पदपूर्ति गर्ने बताएको छ।
इच्छुक नेपाली नागरिकहरूले आजदेखि २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा आवेदन दिन सक्नेछन्।
दुबै संस्थाका सूचनाहरूमा पद, योग्यता, दस्तुर, आवेदन प्रक्रिया र अन्य विवरण उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित संस्थाको वेबसाइट वा कार्यालयमा सम्पर्क गरेर विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्।















