काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
शाक्यले कार्यभार सम्हालेयता प्राधिकरणको यथार्थ अवस्थाबारे जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको जानकारी दिए ।
श्वेतपत्रमा ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत आपूर्ति, नवीन वित्तीय व्यवस्थापन र मानव स्रोत सुदृढीकरणमा विशेष जोड दिइएको उल्लेख गरिएको छ ।
वितरण प्रणाली सुधारतर्फ १० जना बढी महसुल बुझाउने उद्योगीलाई सम्मान गरिएको पनि उनले जानकारी दिए । त्यसैगरी, शाक्यले चीनतर्फबाट आएको बाढीका कारण प्राधिकरणअन्तर्गतका जलविद्युत आयोजना ठप्प भएको बताए ।
बाढीले करिब २५० मेगावाट विद्युत उत्पादन प्रभावित बनाएको छ। सबैभन्दा धेरै क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा पुगेको हो। आयोजनाको बाँधको एउटा गेट बगाएको र ड्याममा समेत क्षति पुगेको छ।
त्रिशुली कोरिडोरअन्तर्गतका चिलिमे, माथिल्लो त्रिशुली थ्री ए, र तल्लो त्रिशुली आयोजनामा पनि बाढीको असर परेको छ। बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री एको ड्याममा क्षति पुगेको र दुई वटा गेट बगाएको जानकारी दिइएको छ । यसबाहेक २१ मेगावाटको तल्लो त्रिशुली आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
शाक्यले त्रिशुली कोरिडोरमा ६–७ वटा जलविद्युत प्लान्टहरू अहिले बन्द अवस्थामा रहेको उल्लेख गर्दै, यद्यपि विद्युत आपूर्तिमा तत्काल समस्या नरहेको स्पष्ट पारे ।












