काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बैकुण्ठनाथ दाहालको ७१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहेका दाहालको उपचारका क्रममा निधन भएको हो। स्व.दाहालप्रति नेकपा (एमाले)ले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा उनका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
२०११ साल चैत २९ गते ओखलढुंगामा जन्मिएका दाहाल हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मा स्थायी बसोबास गर्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र चार छोरी छन्।
२०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका दाहाल जीवनभर पार्टी र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहेका थिए ।
पछिल्लो समय पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यको रूपमा क्रियाशील रहेका दाहालको योगदानप्रति पार्टीले उच्च सम्मान व्यक्त गरेको छ।
परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले स्व. दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्। दाहाल लामो समयदेखि पत्रकारिता र सामाजिक सेवामा पनि सक्रिय रहेका थिए । उनी नेपाल बार एसोसिएशन, उदयपुरका पूर्व अध्यक्षसमेत हुन् ।
स्व.दाहालको काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईसहितका नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दहासंसकार पशुपति आर्यघाटमा हुने र अन्य १३ दिनको संस्कारिक काम उदयपुर गाईघाटस्थित निवासमा हुने परिवारीक स्रोतले जनाएको छ ।












