काठमाडौं । देशका विभिन्न जिल्लामा वर्षा र बाढीका कारण जनधनको क्षति भएपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। बाढीबाट विशेषगरी रसुवा जिल्लामा ठूलो क्षति भएको तथा नागरिक सम्पर्कविहीन भएको खबर सार्वजनिक भएसँगै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उक्त बैठक बस्न लागेको हो।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा जनजीवन अस्तव्यस्त बनेको छ। बाढीका कारण स्थानीय बासिन्दा सम्पर्कविहीन भएका छन् भने धेरैको धनमालमा क्षति पुगेको छ। गृहमन्त्रालयले यस विषयमा उद्धार, खोज तथा राहत पुनःस्थापना रणनीतिका विषयमा गम्भीर छलफल गर्न बैठक आयोजना गरेको बताइएको छ।
यसैबीच, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको जानकारी दिएको छ। नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका ती व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
सरकारले बाढी प्रभावित क्षेत्रहरूमा राहत तथा पुनःस्थापनाका लागि समन्वित प्रयास गर्ने जनाएको छ। बैठकपछि थप रणनीति र निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ।












