काठमाडौं । तिब्बतबाट आएको भीषण बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रभाव पार्दै बुढीगण्डकी दोभानसम्म खतरा बढाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहान करिब ३:३० बजे भोटेकोशी नदीमा प्रवेश गरेको बाढी रसुवा–स्याफ्रुबेँसी जलमापन केन्द्रमा मापन गरिएको थियो। सो बाढी बिहान ५ बजे बेत्रावती आइपुगेको र त्यहाँ बहाव साढे २ मिटरले बढेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले सतर्कता जारी गर्दै भनेको छ, “प्रारम्भिक रूपमा उक्त बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म देखिएको छ। त्यसैले दिउँसोसम्म त्रिशूली नदी किनार आसपासका बासिन्दा सतर्क रहन जरुरी छ।”
यसैबीच, भोटेकोशीमा आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको पुष्टि भएको छ। पुलसँगै भन्सार यार्डमा कार्यरत ९ नेपाली कामदार, ३ नेपाल प्रहरी, र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्।
बाढीले नजिकका भौतिक संरचनामा पनि क्षति पुर्याएको जनाइएको छ भने त्रिशूली किनार आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिइएको छ।












