काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित ठुलोहाँका पाटन क्षेत्रमा चट्याङ पर्दा एक व्यक्ति घाइते हुनुका साथै दुई सयभन्दा बढी भेडा मरेका छन्।
चट्याङ लागेर सिंजा गाउँपालिका–६, भाडगाउँ निवासी करिब ५० वर्षीय धनबहादुर रावत घाइते भएका हुन्। उनलाई स्थानिय सहयोगमा उद्धार गरिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविन बाबु रेग्मीका अनुसार घाइते रावतसहित अन्य पाँच जना भेडा किसान सो दुर्गम पाटन क्षेत्रमा ९ सय भेडा लिएर गएका थिए। चट्याङका कारण झन्डै २ सय भेडाको मृत्यु भएको छ भने बाँकी क्षतिको विवरण संकलनको चरणमा रहेको प्रहरीले जनाएको छ।
घटना स्थल जुम्ला सदरमुकामबाट करिब १० घण्टाको दुरीमा पूर्व–दक्षिणतर्फ पर्ने अत्यन्तै दुर्गम क्षेत्र हो।












