काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँग पार्टी एकता हुने भन्ने चर्चा पूर्णतः असत्य र आधारहीन भएको स्पष्ट पारेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटलाई लिएर केही सञ्चार माध्यमले ‘बाम एकताको प्रस्ताव’ शीर्षकमा समाचार प्रकाशन गरेपछि माओवादीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै भ्रममा नपर्न आग्रह गरेको हो।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं। कतिपय सञ्चार माध्यममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग वाम एकताको प्रस्ताव राखेको भन्ने कुरा पार्टीमा कुनै जानकारी नरहेको बताएको छ। पार्टीले पूर्वराष्ट्रपतिको भेटलाई अनौपचारिक व्यक्तिगत भेटका रूपमा व्याख्या गर्दै त्यसलाई राजनीतिक एकताको प्रसंगसँग जोड्नु अनावश्यक भएको उल्लेख गरेको छ।
सापकोटाले भनेका छन्, “अन्य वामपन्थी तथा समाजवादी घटकहरूसँग विचार आदान–प्रदान र सहकार्यको प्रयास भइरहे पनि एमालेसँग तत्काल एकताको कुनै योजना छैन।”
माओवादी केन्द्रले यस्ता हल्ला र प्रचारबाजीले भ्रम फैलाउन सक्ने भएकाले सत्य तथ्यमा आधारित भएर मात्र धारणा बनाउन जनसमुदायलाई आग्रह गरेको छ। पार्टीले वर्तमान राजनीतिक सन्दर्भमा सुदृढ वामपन्थी मोर्चा निर्माणका लागि आवश्यक छलफल र समन्वय भने जारी राखिएको बताएको छ।












