काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार शेयर निष्कासनको अनुमति दिएको छ। बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौं पटक संशोधन गर्दै यस्तो शेयर निष्कासनको व्यवस्था गरेको हो।
यो शेयर संस्थापक शेयरधनीहरूबीच मात्रै किनबेच गर्न पाइनेछ र यसको अंकित मूल्य १ सय रुपैयाँ हुनेछ। अब राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले बोर्डमा आवेदन दिएर यस्ता शेयर निष्कासन गर्न सक्नेछन्। संशोधित निर्देशिकाअनुसार परिपत्र विधिबाट ५० जनाभन्दा कम संस्थागत लगानीकर्तालाई मात्र यस्तो शेयर दिन सकिनेछ।
सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले यसमा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ। यस्ता सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप प्रणालीमार्फत हुनेछ भने सूचीकरण र कारोबार धितोपत्र बजारले तोकेको मापदण्ड अनुसार हुनेछ। परिपत्र विधिबाट बिक्री भएको यस्ता सेयरको खरिदबिक्री पनि संस्थागत लगानीकर्ताबीच मात्र गर्न सकिनेछ। लाभांश वितरण सम्बन्धी निर्णय वितरणयोग्य मुनाफा आर्जन भएको अवस्थामा मात्र गर्न सकिनेछ र नियामकले रोक नलगाएको अवस्थामा यस्तो लाभांश नदिने निर्णय गर्न नपाइनेछ।
यस्तो शेयरको फिर्ता वा साधारण शेयरमा रूपान्तरण राष्ट्र बैंकको नियमनअनुसार हुनेछ। राष्ट्र बैंकले यसअघि पूँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई यस्ता अग्राधिकार शेयर जारी गर्ने बाटो खुला गरिसकेको छ। यस्ता शेयरमा भुक्तानी अवधि तोक्न नपाइने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, सञ्चित मुनाफाबाट लाभांश नदिने, र संस्था खारेज भएमा अन्य नियामकीय पूँजीपछि मात्रै भुक्तानी पाउने व्यवस्था गरिएको छ।
पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो सेयर जारी गर्न सक्नेछन् र यस्ता शेयरहरू अतिरिक्त टियर १ पूँजीमा मात्रै गणना गरिनेछ। लाभांश वितरण सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित बैंक वा वित्तीय संस्थामा रहनेछ र लाभांश दर तथा नीति विवरणपत्रमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।












