काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको परम्परागत जनाधार खस्किँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीले ऐतिहासिक परम्परा, धर्म, संस्कृति र विचार प्रणालीलाई मजबुत ढंगले प्रस्तुत गर्न नसके आगामी २०८४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुने चेतावनी दिए।
उनले भने, ‘हाम्रो पार्टी पुरानो भए पनि पुराना पार्टीहरूप्रति जनताको विश्वास घटिरहेको छ। नयाँ पार्टीहरूको उदय भइरहेका बेला हाम्रो परम्परागत मतदाता वर्ग टुट्दै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ।’
डा. महतले विशेष गरी धार्मिक र सांस्कृतिक पहिचानमा आधारित मतदाता वर्ग पार्टीको मूल आधार भएको भन्दै त्यसलाई मजबुत रूपमा उठाउनुपर्नेमा जोड दिए। उनले स्पष्ट रूपमा भने, ‘हामी हिन्दू, बौद्ध, किराँत र प्राकृतिक पूजक धर्म मान्नेहरूको प्रतिनिधित्व गर्छौं। यही पार्टीको राइट टु द सेन्टर हो। कम्युनिस्टहरूले जस्तो धर्म अस्वीकार गर्ने होइन, हामी आस्थावान् छौं।’
उनका अनुसार धार्मिक स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो र पार्टीले यस पक्षलाई संरक्षण गर्न नछाड्नुपर्ने बताउँदै उनले पार्टीको वैचारिक धरातल इन्ट्याक्ट राख्नुपर्ने धारणा राखे।
त्यस्तै, महतले पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा देखिएको आपसी आक्रमण, कार्यकर्ताको मनोबल कमजोर हुनु, आन्तरिक विवादले जनताबीच विश्वास खस्किनु जस्ता समस्याप्रति पनि गम्भीर ध्यान दिन नेतृत्वलाई आग्रह गरे।
उनले भने, ‘भित्रैभित्रैको विग्रह, सार्वजनिक आलोचना र मनमुटावले कांग्रेसलाई अझ कमजोर बनाइरहेको छ, त्यसैले पार्टीभित्र एकता र अनुशासन कायम गर्न अब ढिला गर्नु हुँदैन।’












