काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीभित्रकै १९ नेताविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको छ।
अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले आइतबारको बैठकमा ११ जना केन्द्रीय सदस्य, १ जना प्रदेश सभापति र ७ जना जिल्ला सभापतिविरुद्ध उजुरी दर्ता भएको जानकारी गराएका हुन्।
ढुंगानाका अनुसार अधिकांश उजुरीहरू आम निर्वाचन, स्थानीय तह, प्रदेश र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा परेका हुन्।
उनले उजुरीमाथि छानबिन कार्य जारी रहेको बताए पनि उजुरी पर्नेको नाम भने खुलाइएको छैन।
बैठकमा अनुशासन समितिको भूमिकामाथि कतिपय नेताहरूले प्रश्न उठाएका थिए। शेखर कोइराला र अर्जुननरसिंह केसीजस्ता नेताहरूले अनुशासन समिति पारदर्शी नभएको र मनोमानी गरेको आरोप लगाएका थिए।












