काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले देशमा केही सकारात्मक कामहरू भए पनि अपेक्षाअनुसार परिणाम नआएकाले निराशा फैलिएको बताए।
‘सबै कुरा बिग्रिएको छ भन्ने सोच ठीक होइन,’ उनले भने,’केही राम्रो भएको छ, अझ राम्रो गर्न सकिएको छैन। त्यसैले आलोचना मात्र होइन, अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्छ। गुनासो गरेर मात्रै केही हुँदैन, हामीले नेतृत्व गर्ने संकल्प गर्नुपर्छ।’
कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले आफ्नो लक्ष्य निर्धारण गरेर आत्मविश्वाससाथ अघि बढ्नुपर्ने सुझाव दिए। तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार तारकेश्वर नगरपालिकाभित्रका ७१ विद्यालयका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो। तीमध्ये १७ जनाले ४ जिपिए ल्याउन सफल भएका छन्। ती विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको र अन्यलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र वितरण गरिने जानकारी दिइएको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं–२६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर–५ का अध्यक्ष शम्भु फुयाल, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रम परिवर्तन अभियान नेपाल को आयोजनामा सम्पन्न भएको हो। वक्ताहरूले शिक्षा क्षेत्र सुधार र युवा क्षमताको विकासमा निरन्तर लगानी आवश्यक रहेकोमा जोड दिएका थिए।












