काठमाडौं । देशभर गर्मी मौसमको असरसँगै अण्डा उत्पादन घटेपछि बजारमा अण्डाको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लामो समय घाटामा रहेका कुखुरापालक किसानले पछिल्लो मूल्य वृद्धिलाई केही राहतको संकेतका रूपमा लिएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न अग्रणी कृषि फार्महरूद्वारा तोकिएको मूल्यलाई आधार मानेर नयाँ समर्थन मूल्य निर्धारण गरी आज (शुक्रबार) देखि लागू गरेको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट (९३० वटा) रू ४९५ र मझौला अण्डाको रू ४६५ कायम गरिएको छ।
हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रू १६.५६ रहेको छ भने नयाँ समर्थन मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रू १६.५० पाउने भएका छन्। लागतभन्दा केही कम मूल्य भए पनि अघिल्लो तुलनामा यो किसानका लागि राहतपूर्ण रहेको किसानहरूले बताएका छन्।
दाउन्ने, हिमचुली, खिलुङकाली (जनकपुर एग्रो), सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता प्रमुख फार्महरूले ठूलो अण्डाको प्रतिपेटी मूल्य रू ३,६४५ देखि ३,६६० र मझौला अण्डाको रू ३,४४५ देखि ३,४६० कायम गरेका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटक आगमन वृद्धि र स्कुल–कलेज सञ्चालनले अण्डाको माग बढाएको हो। साथै, बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले उत्पादनमा थप असर परेको उनले बताए।
“अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने सङ्केत देखिन्छ,” पोखरेलले भने, “मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ।”
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले माग–आपूर्ति असन्तुलनका कारण मूल्य बढेको बताए। “अब केही दिनमा नै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उनले भने।












