काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री रामेश्वर चौधरीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रियाविना हटाइएको भन्दै असन्तुष्टि जनाउँदै उनले पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारेकी हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै श्रेष्ठले मन्त्री चौधरीको बर्खास्ती असंवैधानिक, अपमानजनक र लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरिन्। “हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौँ,” श्रेष्ठको भनाइ छ।
उनले सांसदहरूको बेइज्जती पार्टीकै बेइज्जती भएको उल्लेख गर्दै यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको दाबी गरिन्। श्रेष्ठका अनुसार यो निर्णय पार्टी संरक्षक रेशम चौधरीको मार्गदर्शनअनुसार गरिएको हो। श्रेष्ठले पार्टी अब सदनमा दृढ प्रतिपक्षको रूपमा भूमिका निर्वाह गर्ने बताइन्।
नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा ४, मधेश प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद छन्। श्रेष्ठले यो प्रतिनिधित्व केवल संख्याको मात्र नभई संविधानप्रति निष्ठा, उत्पीडित समुदायहरूको आवाज र जनताको भरोसाको प्रतिनिधित्व भएको उल्लेख गरिन्।












