काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले आजदेखि सम्बन्धित सबै सेवा बन्द गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स सेवासमेत हालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
विभागको सूचनामा भनिएको छ,’सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’
विभागका अनुसार प्रणालीमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको छ । समस्या समाधान नभएसम्म वा अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द नै रहने जनाइएको छ ।
यस निर्णयसँगै नयाँ लाइसेन्स आवेदन, अनलाइन फर्म भराइ, परीक्षण प्रक्रिया, स्मार्ट लाइसेन्स प्रिन्टिङ लगायतका सबै कार्य ठप्प भएका छन् । सेवाग्राहीलाई यसबाट असुविधा भएपनि समस्या समाधानपछि सेवा पुनः सुचारु गरिने विभागले स्पष्ट पारेको छ ।













