काठमाडौें । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै, कालोसूचीमा राख्न नपर्ने कुनै आधार प्रमाण भए तोकिएको समयमा जानकारी गराउन अनुरोध गरेको हो ।
यसअघि विभिन्न सार्वजनिक निकायहरूबाट ती व्यवसायीहरूलाई कालोसूचीमा राख्न सिफारिस आएको कार्यालयले जनाएको छ । सोही आधारमा सम्बन्धित व्यवसायीहरूलाई सूचना पठाइएको र ३० दिनको समय दिइएको भए पनि अहिलेसम्म लिखित जवाफ नआएको भन्दै पुनः सात दिने समयसहित सूचना जारी गरिएको हो ।
कार्यालयले स्पष्ट रूपमा उल्लेख गरेको छ कि सात दिनभित्र स्पष्टीकरण नआएमा उपलब्ध सूचना तथा प्रमाणका आधारमा आवश्यक निर्णय लिइनेछ ।
सूचना अनुसार, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने अवस्था रहेकाले व्यवसायी तथा आपूर्तिकर्ताहरूले चाँडोभन्दा चाँडो स्पष्टीकरण पेश गर्नुपर्नेछ । सार्वजनिक खरिद प्रणालीमा पारदर्शिता र जवाफदेहिता कायम राख्न यस्ता अनुगमन तथा कारबाही प्रक्रिया आवश्यक भएको कार्यालयले जनाएको छ ।













