काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्री आज पार्टी सचिवालय बैठकमा उपस्थित भएकी छन्।
आलोकनगरस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा झाँक्री केहीबेरअघि मात्रै पुगेर आफ्नो धारणा राख्न थालेकी हुन्। उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै दिएको अभिव्यक्तिले पार्टीभित्र गम्भीर असन्तोष चुलिएको छ। झाँक्रीले अघिल्लो साता ‘सिनो बोकेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्छ’ भनेर सार्वजनिकरूपमा भनाइ राखेकी थिइन्।
उनको उक्त अभिव्यक्तिपछि नेकपा एसभित्र तीव्र विवाद र आक्रोश उत्पन्न भएको थियो। पार्टी अनुशासन आयोगले झाँक्रीसँग तीन दिने स्पष्टीकरण मागेको थियो। तर, उनले आफूले औपचारिक पत्र नपाएको दाबी गरेकी थिइन्। “म सचिवालयमा नै आफ्नो धारणा राख्छु,” उनले पहिल्यै प्रतिक्रिया दिएकी थिइन्।
आजको सचिवालय बैठकमा उनले आफ्नो भनाइको स्पष्टीकरण दिँदै पार्टीभित्रको नेतृत्व संकट र जनविश्वास गुमाउँदै गएको सन्दर्भमा खुलेर बोल्ने आवश्यकता भएको तर्क गर्न सक्ने अनुमान गरिएको छ।
पार्टीभित्रको नेतृत्वको समीकरणमा असर पार्न सक्ने यो घटनाले नेकपा एसको आगामी रणनीति र एकतामा असर पार्ने देखिएको छ।












