रामेछाप । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र नेतृत्वको विषयलाई लिएर अहिलेको समय “ओली कि भण्डारी” भनेर दौडने समय नभएको बताएका छन्।
मंगलबार नेकपा एमाले रामेछापले मन्थलीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यशालामा बोल्दै गुरुङले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा गरेर एमालेलाई कमजोर पार्न नहुने चेतावनी दिए।
“अहिले केपी ओली र विद्या भण्डारी भनेर दौड्ने बेला होइन। पार्टीमाथि चौतर्फी हमला भइरहेको छ। यस्तो बेलामा आन्तरिक प्रतिस्पर्धा गरेर पार्टी कमजोर बनाउन मिल्दैन,” उनले भने।
उनले नेतृत्वको विषयमा निर्णय महाधिवेशनमा हुने स्पष्ट गर्दै अहिले एकता र अनुशासन कायम राख्नुपर्ने बेला भएको बताए।
“महाधिवेशनमा हामी बहस गर्छौं र आवश्यक निर्णय लिन्छौं। नेताहरू रहरले होइन, समय र आवश्यकता अनुसार उभिन्छन्,” गुरुङको भनाइ थियो।
गुरुङले पार्टीमा नातावाद, कृपावाद र अवसरवाद मौलाउँदै गएको भन्दै ती प्रवृत्तिबाट मुक्त नभए समाजवादको लक्ष्य अधुरै रहने चेतावनी पनि दिए।
“पार्टीले टिको लगाएर नेतृत्वमा पुर्याउने होइन, कार्यकर्ताले अनुमोदन गर्ने, जनताले विश्वास गर्ने व्यवस्था हुनुपर्छ,” उनले भने।
उनले एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताले जरा गाडिरहेको भन्दै चिन्ता व्यक्त गरे। “पद बाँड्दै हिँड्ने, आफू भए ठीक, अरू हुँदा गलत भन्ने प्रवृत्ति खतरनाक हो,” गुरुङले चेतावनी दिए।
एमालेको विचार र संरचना मार्क्सवादी–लेनिनवादी आधारमा बनेको भए पनि अहिले त्यसको पद्धति ‘कोमामा’ पुगेको भन्दै उनले गम्भीर आत्मालोचना गरे।
“यो संकटबाट पार्टीलाई पुनः सुदृढ बनाउने जिम्मा हामी सबैको हो,” गुरुङले पार्टी कार्यकर्तालाई आह्वान गरे।












