काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार पार्टीको सरकार तथा संसद्मा भूमिकाबारे जानकारी दिने क्रममा गृहमन्त्री लेखकले उक्त गुनासो व्यक्त गरेका हुन्।
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयसम्बन्धी प्रकरणमा अनुसन्धान गरिरहे पनि केही प्रचार माध्यमले आफूलाई जानीजानी जोडेको आरोप उनले लगाए।
“अख्तियारले अनुसन्धान सुरु गर्नेबित्तिकै म संलग्न भएकोजस्तो प्रचार गरियो,” उनले भने, “यो राजनीतिक प्रतिशोध साँध्ने प्रवृत्ति हो।”
गृहमन्त्री लेखकले अख्तियारलाई आवश्यक दस्तावेज उपलब्ध गराउने र अनुसन्धानमा सहयोग पुर्याउने काम भइरहेको समेत स्पष्ट गरे।
उनले भिजिट भिसामात्र होइन, समग्र अध्यागमन प्रणालीमै सुधारको खाँचो रहेको बताउँदै त्यसका लागि अध्ययन समिति गठन भइसकेको र समितिले चाँडै काम सुरु गर्ने जानकारी दिए। “तीन महिनामा समितिले प्रतिवेदन बुझाउँछ, त्यसैअनुसार सुधार अघि बढाइनेछ,” उनले भने।
भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको विषय प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लाई प्रष्ट भइसकेको तर अन्य दलले नबुझेको भन्दै राजनीतिक रूपमा मुद्दा उठाइएको गुनासोसमेत उनले गरे।
गृहमन्त्री लेखकले सरकार सञ्चालनमा कुनै गाह्रो नरहेको दाबी गर्दै यस्ता विषयमा राजनीतिक निहित स्वार्थबाट प्रभावित नहुन दलहरुलाई आग्रहसमेत गरे।












