काठमाडौं । आज असार १५, देशभर धान दिवसको रूपमा मनाइएको छ। किसानको मेहनत र कृषि संस्कृति समेटिएको यो दिनमा खेतमा धान रोपाइँ गरिँदै, हिलोमा रमाइलो, लोक भाकामा दोहोरी, र दही–चिउरा खाएर उत्सव मनाइएको हो।
“मानो रोपेर मुरी उब्जाउने“ नेपाली भनाइअनुसार असार महिना किसानका लागि व्यस्त समय हो।
पानी पर्ने बेला भएकाले यस महिनामा धान रोप्न उपयुक्त मौसम मानिन्छ। सोही अवसरमा देशभरका किसान आजका दिन खेतबारीमा पस्दै रोपाइँमा जुटे।
काठमाडौंसहित, ललितपुरको छम्पी, भक्तपुर, चितवन, पोखरा, तनहुँ, लमजुङ, गोरखा र पूर्व–पश्चिमका जिल्लामा किसान र सर्वसाधारणले खेतमा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेका छन्।
धान दिवसलाई कृषि संस्कृति र उत्पादनप्रति सम्मान प्रकट गर्ने दिनको रूपमा लिइन्छ। कृषिमा युवाको आकर्षण बढाउन र आत्मनिर्भरता प्रवद्र्धन गर्न सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो।
धान दिवसका अवसरमा विभिन्न संघसंस्थाले धान उत्पादन, बीउ–मलको व्यवस्थापन र प्रविधि विषयमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेका छन्।

















