काठमाडौं । पछिल्ला तीन कारोबार दिन लगातार घटेको बजार परिसूचक साताको पहिलो दिन भने दोहोरो अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.७०, फ्लोट इण्डेक्स २.०५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक बढेपछि समग्र नेप्सेमा सुधार देखिएको हो ।
नेप्सेमा सुधार आएपनि कारोबार रकम भने घटेको छ। गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार भने ३२८ स्टकको ७४ हजार ७५२ पटकको कारोबारमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९९ रुपैयाँ ५२ पैसा बढेर १ हजार ९५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ५.५७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको साहस उर्जा लिमिटेडको ५७ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब ३५ करोड र युनियन हाइड्रोपावरको कारोबार रकम २४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।












