काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुसंगठित विवरण संकलन गर्न लक्षित गरी विकसित ‘श्रम संसार’ एप बिहीबारदेखि सञ्चालनमा आएको छ।
एपको माध्यमबाट संसारभर रहेका नेपाली डायस्पोराको स्थान, अवस्था र संख्याबारे वास्तविक जानकारी लिन सकिने भएको छ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस एपमार्फत विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गर्न सक्ने छन्। यसले कन्सुलर सेवा प्रदान गर्न र आपतकालीन उद्धारको प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।
‘श्रम संसार’ एपमा दर्ता गरिएका विवरणहरू सम्बद्ध देशस्थित नेपाली राजदूतावासमार्फत अद्यावधिक गरिनेछ। यसले विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको अवस्थाबारे सरकारी निकायहरूलाई स्पष्ट र अद्यावधिक डेटा उपलब्ध गराउनेछ।
सरकारले यो एपमार्फत सुसूचित नीति निर्माण, प्रवासी नेपालीको सुरक्षामा सहजीकरण र आवश्यक सहयोग पुर्याउने लक्ष्य लिएको छ।












