काठमाडौं । सप्तकोशी नदीमा ३ दिनदेखि बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ। आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो ।
उनीसँगै सप्तकोशीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।
उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोशी नदीमा पसेका थिए। दुवै जना सशस्त्र प्रहरीका जवान हुन्। तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए। राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका थिए।
तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडियो भने त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पनि पानीमा तैरियो। अनि दुई जना नदीमै हराए।
राजवंशीको शव शुक्रबार नै राजविराजमा पोस्टमार्टमपछि आफन्तले लगेर दाहसंस्कार गरिसकेका छन्। तर उनीसँगै नदीमा हेलिएका साउद फेला नपरेपछि खोजीका लागि कुरिनटारबाट थप जनशक्ति पठाइएको थियो।
डीएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको टोलीले आइतबार साउदको पनि शव फेला पारेको हो। भण्डारी बंगलादेशमा तालिम गरेर फर्किएका गोताखोर हुन्।












