काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुसँगै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ।
यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज कोसी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्नको लागि आवश्यक तयारी गर्नसमेत महाशाखाले सबैमा अनुरोध गरेको छ।












