काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् ।
विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए । उनले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गरे । उनले शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए ।
उनले भने, ‘आज २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन् । हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङगो नाँच देखायो । शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी वर्षायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ । सुन्दै छु कहिले पाँच बुँदे कहिले सात बुँदेको त कहिले नौ बुँदाका के के आइरहेका छन् । हामीले तपाईहरुलाई डाँट्नु पर्ने केही छैन । नेपाल सरकारले ऐनमा के के गर्नु पर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ । त्यही नै हाम्रो आधिकारिक डकुमेण्ट हो । सरकारले गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ ।’












