काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्ने बताएका छन्। नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले नया वर्षले सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने विश्वास व्यक्त गरेका हुन्।
‘आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दछु। नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं।’ शुभकामना सन्देशमा ओलीले भनेका छन्,‘यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु। अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छु।’
उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प रहेको बताए। ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो। राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं।’ एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ। सबै दिदीबहिनी दाजुभाइहरुमा नयाँ वर्षले नयाँ संकल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु।’












