काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन्।
थाइल्याण्डको औपचारिक भ्रमण सकिएसँगै बैंककमा जारी बिम्स्टेकको छैटौँ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ। कार्यक्रम छ।
सम्मेलनमा दिवाभोजपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने कार्यतालिका छ। बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।












