काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा छोड्न नसकिने बताएका छन्।
चैत १५ गते तिनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हत्याको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने उनको दाबी छ। सिन्धुलीको दुधौलीमा आयोजित माओवादी नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले यो धारणा राखेका हुन्।
“आफ्नै घरमा भयानक हत्याको मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न कुनै हिचकिचाहट मान्दैनन्,” प्रचण्डले भने, “ज्ञानेन्द्रलाई छुट दिनुहुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ। सबै राजनीतिक दलले पनि यो मान्यता राखेका छन्।”
उनले जनता र दलहरूको उदारताको नाजायज फाइदा उठाएर ज्ञानेन्द्रले फेरि हिंसा र गुन्डागर्दी मच्चाउन सक्ने चेतावनी दिए। “यस्तो भए जनताले छुट दिने छैनन्,” उनले थपे।
दाहालले चैत १५ को घटनालाई लिएर राजावादी सभालाई ‘हत्यारा र गुन्डाहरूको सभा’ र गणतन्त्रवादीहरूको सभालाई ‘हिरोहरूको सभा’ को संज्ञा दिए।
“तिनकुनेमा जे भयो, त्यो ज्ञानेन्द्रको मूर्खता र विवेकहीनताको परिणाम हो। यो घटनाले गणतन्त्रवादीको उचाइ र राजावादीको निचता प्रस्ट भएको छ,” उनले भने।












