काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले सो प्रतिक्रिया दिएका हुन् ।
महासचिव पोखरेलले छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो ।‘
उनले राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा र एकअर्कामा आलोचना र विरोध गर्ने तथा जनअभिमतबाट आफुलाई स्थापित गर्दै जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दा डटेर सामना गर्न सक्ने बताएका छन् ।
‘राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्दछन्। एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतवाट आफुलाई स्थापित गर्ने कोशिस समेत गर्दछन् । तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना पनि गर्न सक्दछन् । इतिहासले धेरै पटक प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’ पोखरेलको भनाइ छ ।












