काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै उनले जारी गरेको कार्यकारी आदेशानुसार स्थगित भएको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्यक्रमहरू फेरि अगाडि बढ्ने भएका छन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टअनुसार नेपालमा सो कार्यक्रम सञ्चालन गर्न एमसीए नेपाल स्थापना गरिएको छ । एमसीसीसँगै ट्रम्पले यूएसएडको अनुदान पनि राेकेका छन् । तर यूएसएड फेरि सञ्चालन हुनेमा आशंका छ ।
एमसीए नेपालले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको जनाएको छ । उसले भनेको छ, ‘यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै सङ्केत भने गर्दैन ।’
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेको जनाइएको छ । एमसीए–नेपाल कामहरूको पुनःथालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिवद्ध रहेको जनाएको छ । एमसीए–नेपालले अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको जनाएको छ ।












