काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अलिहेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको बताएको छ।
नेपाल प्रेस युनियनले आयोजना गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो चित्ता व्यक्ति गर्दै संयन्त्रले सरकार चलाउने साम्यवादी देशहरूमा मात्र भएको बताए।
उनले केन्द्रदेखि पालिकासम्म संयन्त्रले सरकार चलाइरहेको बताउँदै अब वडा मात्र बाँकी रहेको उल्लेख गरे। वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास भइरहेको उनको भनाई छ।
लोकतन्त्रमा संयन्त्रले देश नचल्ने बताउँदै उनले थाहा पाउने गरी सरकार एमालेकरण भइरहेको उल्लेख गरे।
‘मलाई डर लागिरहेको छ, चिन्ता लागिरहेको छ यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरूमा मात्रै हुनसक्छ। साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ,’ नेता कोइरालाले भने।
यस्तै, उनले कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको बताउँदै सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याए।
‘हामी सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने, ‘हामी प्रतिस्पर्धी हौं, राजनीतिमा हाम्रो प्रतिस्पर्धा एमालेसँगै हो। त्यसैले हामीले सरकारलाई खबरदारी गरेर अघि बढ्नुपर्छ।’
नेता कोइरालाले राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर सरकार बनाउन पहल गरेको बताए। सरकारको पछिल्ला गतिविधिले लोकतन्त्रलाई नै अप्ठ्यारोमा पारिररहेको उनले बताए।












