काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नेपाललाई लैजान नहुने बताएका छन्। समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हानिकारक हुने टिप्पणी गरेका हुन्।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । नेपालजस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ। मेरो धारणा फरक छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?’पूर्वप्रधानमन्त्री नेपालले भने।
उनले वर्तमान सरकारबाट जनताले कुनै आशा गर्न नसकेको बताए। सरकारले काम भन्दा कुरा धेरै गर्ने गरेको भन्दै सरकारबाट जनता निराश भएको बताए। जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए।












