काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मदन राईलाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत खोटाङको न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशीमा पेस गर्न आदेश दिएको हो।
माघ २५ गतेको पेशीमा उनलाई कति सजाय हुने भन्ने फैसला हुनेछ। २०८० जेठ २१ गते उनीविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।
कृषि विज्ञका रूपमा परिचित मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ। राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।












