काठमाडौं । जनकपुर बोल्टसलाई पराजित गर्दै चितवन राइनोज ‘प्लेअफ’ नजिक पुगेको छ भने विराटनगर किंग्स र पोखरा एभेन्जर्स एक-एक खेल बाँकी छँदै बाहिरिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १४८ रन समेटियो।
जनकपुरका लागि जेम्स निशमले विस्फोटक अर्धशतक प्रहार गरे। उनले २४ बलमा पाँच चौका र ६ छक्काको मद्दतले ६५ रन बनाए।
त्यस्तै, आसिफ शेखले २३, शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
चितवनका लागि रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले दुई-दुई तथा अमर रौटेलाले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको चितवनले पाँच विकेटको क्षतिमा १८० रन बनाएको थियो। चितवनका लागि कप्तान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे। उनले ४१ बलमा तीन चौका र सात छक्काको मद्दतले ७२ रन बनाए।
त्यस्तै, रवि बोपाराले ४४, हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए। जनकपुरका लागि ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निशमले एक-एक विकेट लिए।
यो जितसँगै चितवन आठ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। चितवनसँगै सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सको आठ-आठ अंक छ।
यो हारले जनकपुरलाई केही फरक नपरे पनि विराटनगर र पोखराको ‘प्लेअफ’को बाटो छेकिएको छ। समान चार अंक रहेका विराटनगर र पोखराले अर्को खेल जिते पनि ६ अंक मात्रै हुनेछ। आठ अंक भएका टोली मात्रै ‘प्लेअफ’मा पुग्नेछन्।
यअसघि भएको खेलमा काठमाडौंले पोखरालाई पराजित गरेको थियो। अब आइतबार बिहान विराटनगर र काठमाडौं तथा दिउँसो पोखरा र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन्।












