काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् ।
बिहीबार त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् ।
उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरुले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । उनले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले अनुकुलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन् ।
उनले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्वन गर्न सहयोग पुग्ने दाबी गरिन् ।












