काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ।
म्याद थपका लागि रविलाई अदालत पेश गर्न लागिएको यो पाँचौँ पटक हो। यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।
अदालतले दिएको म्याद शुक्रबार सकिएपछि आज आइतबार अदालत पेश गरिँदैछ। जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको छ। रविलाई म्याद थपपछि यहीँ हप्ता काठमाडौँ पठाइनेछ।
काठमाडौँ प्रहरीले पत्राचार गरेपछि यसअघि गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेललाई पनि काठमाडौँ पठाइएको थियो। काठमाडौँमा बयान सकाएर उनीहरूलाई पोखरा फर्काइको छ। जोशी कास्की प्रहरीको हिरासतमा छन् भने रम्तेल पूर्वपक्षका लागि थुनामा कास्की कारागारमा छन्।












