काठमाडौं । रूसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ता तथा यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए ।
संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत चौहानले रुससँग केवल औपचारिक सम्बन्ध मात्र बनाइराख्ने अवस्थाबाट माथि उठेर लगानी तथा पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विकासलगायत क्षेत्रमा काम गर्ने बताएका हुन् ।
रुसले नेपालको ऊर्जा, पर्यटन, कृषि, खेलकुदलगायत क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको उल्लेख गर्दै प्रस्तावित राजदूत चौहानले त्यसलाई वास्तविकतामा बदल्नका लागि आफूले भूमिका खेल्नसक्ने दाबी गरे । नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनको भनाइ छ ।
सडक, ऊर्जा, उद्योगलगायत पूर्वाधारका क्षेत्रमा रुसबाट लगानी भित्र्याउन सकिने सम्भावना रहेको पनि चौहानले उल्लेख गरे । रुसका नागरिकहरुले साहसिक पर्यटन निकै रुचाउने र नेपालमा यस्तो पर्यटनको निकै सम्भावना रहेको हुँदा त्यसबाट पनि नेपालले लाभ लिनसक्ने चौहानको भनाइ छ ।













