काठमाडौं । एमालेको अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । ११औँ महाधिवेशनबाट अध्यक्ष बन्द ओली र पोखरेलले पदाधिकारीसहित प्यानलगत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
१०औँ महाधिवेशनमा दुवै एउटै टिमबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेका थिए । तर, यसपटक अध्यक्ष ओलीलाई चुनौती दिन पोखरेल अगाडि सरेका छन् ।
ओलीले संस्थापनको प्रतिनिधित्व गर्दा पोखरेलले इतरपक्षको साथ पाएका छन् । माधव नेपालले पार्टी फुटाउँदा साथ नदिएका १० बुँदे पक्षधर प्रभावशाली नेता पोखरेलको प्यानलमा जोडिएका छन्, जसले भोलि हुने मतदानको समीकरणलाई रोचक बनाउने अनुमान गरिएको छ ।
आज उम्मेदवारी दर्ता गराएपछि भोलि ११ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी चुन्न २ हजार २ सय ६३ जना प्रतिनिधिले मतदान गर्दै छन् ।












