काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूह र ईश्वर पोखरेल समूहले आफ्नो–आफ्नो पदाधिकारी प्यानल करिब टुंग्याएका छन्।
ओली समूहले अध्यक्षमा ओली, महासचिवमा शंकर पोखरेलको नाम पक्का गरेको छ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ भने प्रदीप ज्ञवालीसँग छलफल जारी छ। उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ। सचिवमा नौ जनाको नाम टुंगो लागेको स्रोतले जनाएको छ।
ईश्वर पोखरेल समूहले पनि आफ्नो प्यानल सार्वजनिक गरेको छ। अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भएको छ। उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ। उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीको नाम फाइनल भएको छ। सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेलसहित अन्यको नाम लगभग टुंगो लागेको छ।
स्रोतका अनुसार दुवै समूहमा करिब सबै उम्मेदवारको नाम टुंगो लागेको भए तापनि छलफल केही पदमा अझै जारी रहेको छ, जसले गर्दा सूचीमा केही तलमाथि हुन सक्ने छ।
यो निर्णयसँगै एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेको छ, जहाँ दुवै समूहले आफ्नो प्यानल प्रस्तुत गरी प्रतिस्पर्धा गर्ने तयारी पूरा गरेका छन्।












