काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पारेर इतिहास रच्न जेन–जी आन्दोलनका अगुवाहरू र युवा पुस्तासँग आग्रह गरेका छन्। बिहीबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेन–जी प्रतिनिधिहरूसँगको विशेष छलफलमा राष्ट्रपति पौडेलले आगामी निर्वाचनलाई ‘लोकतन्त्रको महायज्ञ’का रूपमा लिएर सफल बनाउन आग्रह गरे।
राष्ट्रपति पौडेलले भने, ‘युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद र कृपावादमुक्त होस्। पक्षपात र अन्याय अन्त्य भई योग्य र इमानदार मानिसले देश चलाओस् भन्ने भावना अनुरूप नै नयाँ चुनाव घोषणा गरिएको हो।’
उनले युवाहरूलाई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा चुनावलाई लिन आग्रह गर्दै भने, ‘यो चुनावलाई सामान्य रूपमा नलिनुस्। यो तपाईंहरूको इमान, प्रतिष्ठा र भविष्यसँग जोडिएको अवसर हो। भ्रष्ट र बदमासहरू जित्न नपाऊन्, असल र इमानदारहरू प्रतिनिधिसभामा प्रवेश गरून्।’
राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नहुने भए पनि युवाको आन्दोलनको सम्मानस्वरूप अन्तरिम सरकार गठनमा प्रत्यक्ष भूमिका खेलेको उल्लेख गरे। उनले भने, ‘राष्ट्रपतिका रूपमा संविधानले दिएको राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गर्दै मैले यो सरकार बनाएको हुँ, ताकि जनताको आन्दोलनले चाहेको न्याय र परिवर्तन सम्भव होस्।’
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलको नेतृत्व र समर्पणको प्रशंसा गर्दै भनिन्, ‘बृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी देशको विषम अवस्थालाई सम्हाल्न राष्ट्रपतिले देखाएको साहस ऐतिहासिक छ। युवाहरूका लागि उहाँको सन्देश भावनात्मक र प्रेरणादायी बनेको छ।’
छलफलमा सहभागी जेन–जीका अगुवाहरूले आफ्नो आन्दोलन भ्रष्टाचार, अन्याय र असमानता विरुद्धको आन्दोलन भएको स्पष्ट पारे। उनीहरूले आन्दोलन संविधान, लोकतन्त्र, संघीयता वा समावेशीताविरुद्ध नभई सुशासन र सामाजिक–आर्थिक न्यायको पक्षमा रहेको बताए।
बैठकमा प्रधानमन्त्री कार्कीसहित अन्तरिम सरकारका सबै मन्त्री सहभागी थिए। जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।












