काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन्।
शुक्रबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलनको समयमा प्रहरीलाई बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै निर्देशन नआएको दाबी गरे।
“जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रूपमा मैले गोली चलाउन आदेश दिएको भन्ने चर्चा उठेका छन्,” उनले भने, “तर म स्पष्ट भन्न चाहन्छु — प्रधानमन्त्री वा गृहमन्त्रीको तर्फबाट बल प्रयोग गर्ने कुनै आदेश दिइएको थिएन।”
लेखकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसको जिम्मेवारी स्वीकार गर्ने मनस्थितिका कारण आफूले तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गरे।
उनले भने, “धेरै जनाको ज्यान गएको छ, सरकारी संरचना र निजी आवासहरूमा ठूला आगजनी भएका छन्। ती घटनाले मलाई गहिरो दुःख पुग्यो, त्यसपछि मैले गृहमन्त्रीको पदबाट राजीनामा दिएको कुरा सबैलाई विदितै छ।”
पूर्व मन्त्री लेखकले हाल देशको राजनीतिक परिस्थिति जटिल मोडमा पुगेको बताउँदै नेपाली कांग्रेसले पछिल्ला घटनाक्रमबारे गम्भीर रूपमा छलफल गरिरहेको जानकारी दिए। “पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टीभित्र निरन्तर बैठक भइरहेको छ,” उनले भने, “आगामी कार्यनीति तय गर्न गम्भीर छलफल भइरहेको अवस्था छ।”
उनका अनुसार, पार्टीले लोकतन्त्र, स्वाधीनता र सामाजिक स्थिरताका लागि जिम्मेवार भूमिकासहित स्पष्ट धारणा तय गर्ने तयारी गरिरहेको छ।












