काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाइएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् । उनीहरू सबैको राजीनामा स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ । रूसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।
यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार)ले राजीनामा दिएका थिए । सरकारले ३० असोजमा कार्यप्रगतिमा प्रश्न उठाउँदै ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि सरकार उनीहरूलाई मन्त्रालयमा हाजिर हुने व्यवस्था गरी फिर्ता बोलाएको थियो । हाल जर्मनी, इजरायल, साउदी अरब, स्पेन र जापानका राजदूत भने सर्वोच्चको टुंगो नलागेसम्म मन्त्रालयमै हाजिर हुने बताएका छन् ।












