काठमाडौं । ठेक्का प्रक्रियामा ढिलाइ हुँदा नेपालमा राहदानीको अभाव हुने स्थिति देखिएको छ। नयाँ राहदानी छपाइका लागि ठेक्का पाएका जर्मन र फ्रेन्च कम्पनीहरूले आगामी मार्चबाट मात्र आपूर्ति सुरु गर्ने भएकाले अहिले मौज्दात राहदानी सकिन लागेका छन्।
यसलाई रोक्न प्रधानमन्त्री सुशीला कार्की सक्रिय भएकी छन्। प्रधानमन्त्रीले नेपालस्थित जर्मन राजदूतसँग भेट गरी आवश्यक सहयोगको आग्रह गरेकी छिन्। त्यसैगरी राहदानी आपूर्ति गराउँदै आएको फ्रेन्च कम्पनी IDEMIA का प्रतिनिधिसँग पनि छलफल भइरहेको छ।
राहदानी विभागका अनुसार अहिले करिब २ लाख राहदानी मात्रै बाँकी छन्, जुन पुससम्म पुग्ने सम्भावना कम छ। भण्डार कम भएपछि विभागले दैनिक आवेदन संख्यालाई ६ हजारबाट घटाएर १ हजारमा झारिएको छ।
फ्रेन्च कम्पनीले अन्तरिम अवधिका लागि २ देखि ५ लाख राहदानी उपलब्ध गराउन सक्ने जानकारी दिएपछि सरकार त्यसबारे निर्णय गर्न नजिक पुगेको बताइएको छ। कम्पनीका मुख्य कार्यकारी अधिकारी काठमाडौँ आउँदैछन्।
सरकारले राहदानीको आपूर्ति सहज बनाउन छिट्टै आवश्यक निर्णय लिने तयारी गरेको छ।












