काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, “केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।” उनका अनुसार हालसम्म नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दल र समूहहरू समाहित भइसकेको छ।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न दल र समूहले नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण गरेका थिए। प्रचण्डले एमाले छोड्ने नेताहरूको समावेशीकरणले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।
यस सहमति र एकीकरणसँगै पार्टीले आगामी चुनाव र राजनीतिक रणनीतिमा केन्द्रित भएर काम गर्ने तयारी गरेको बताइएको छ।












