काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकको समापन सत्रमा शुक्रबार सम्बोधन गर्दै उनले निर्वाचनमा नजाने घोषणा गरेका हुन्। गत बुधबारदेखि जारी बैठक आज (शुक्रबार) समापन भएको हो।
ओलीले बैठकको अन्त्यमा दिएको मन्तव्यमा आफू आगामी निर्वाचनमा सहभागी नहुने बताएको स्रोतले जनाएको छ। तर, उनको उक्त निर्णयप्रति उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले तत्कालै असहमति जनाएका थिए।
उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि बैठक केहीबेर तातिएको थियो। उपस्थित नेताहरूबीच हलचल र छलफल चलेको बताइएको छ।
एमालेले फागुन २१ गते आन्तरिक निर्वाचन गर्ने तयारी गर्दै आएको छ। यसअघि अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणबारे पनि पार्टीभित्र छलफल हुने संकेत दिएका थिए।












