काठमाडौं । नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको लोकार्पण गरिएको छ । शताब्दीपुरुष डा. सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानिरा फाउन्डेसनले राजधानीमा आइतबार आयोजना गरेको एक समारोहबीच चार कृतिको लोकार्पण गरिएको हो।
प्रा.डा. उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्रा.डा. सावित्री कक्षपतिद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईंको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा. अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुदित ‘आइएम योर्स’ नामक कृतिहरू लोकार्पण गरिएको हो ।
वानिरा फाउन्डेसनका संस्थापक इन्जिनियर शंकर गिरी, लेखक भूपालमानसिंह कार्की, प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले सो पुस्तकको लोकार्पण गरेका थिए ।
वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनिता कार्की, प्रा.डा. सावित्री कक्षपति, डा. अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दीपुरुष डा. सत्यमोहन जोशीको महिमा र नवकृतिहरूबारे धारणा राखेका थिए ।